Nepal Government
Ministry of Agriculture and Livestock Development
National Agriculture Modernization Programme
Programme Implementation Unit
Birendranagar Surkhet
कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रिकीकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था लगायतका क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पना सहित स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आ.व. २०७३/७४ देखि आ.व. २०८२/८३ सम्म १० वर्ष अवधिको लागि लागू भएको छ। परियोजनाको कूल लागत १ खर्ब ३० अर्ब रुपैयाँ प्रक्षेपण गरिएको छ। कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ सञ्चालन भएको यस परियोजनाको लक्ष्य समग्र मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकीकरण र दिगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने रहेको छ।
सुर्खेत जिल्ला कृषि उत्पादनको दृष्टिकोणले महत्वपुर्ण जिल्लाको रुपमा रहदैँ आएको छ। यस जिल्लाको निकासी योग्य बालिहरु मध्ये अदुवा, बेसार बाली महत्वपुर्ण बालिको रुपमा रहेको छ। विगत वर्षहरु देखि यस जिल्लाबाट अदुवा/बेसार स्वदेश तथा विदेशका बजारहरूमा निकासी हुँदै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परियोजनाको शूरुवाती वर्ष आ.व.२०७३/७४ देखि नै अदुवा बेसार बालीमा यस जिल्लामा व्याबसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) विकास कार्यक्रम संचालन गर्दै आएको छ। हाल यस जिल्लामा आ.व.२०७६/७७ देखी तरकारी जोन क्षेत्र (पन्चपुरि न.पा., बराहताल गाँउपालिका र चौकुने गाँउपालिकाका विभिन्न वडाहरू) र आ.व.२०७८/७९ देखी मकै जोन क्षेत्र (लेकबेशी र गुर्नभाकोट नगरपालिकाका विभिन्न वडाहरू) थप गरी कृषकहरूको आयआर्जन वृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ।